Tuesday, April 3, 2012

इतिसालात टावर ( दूरसन्चार )
हुन त समयको आफ्नै गति हुन्छ त्यसलाई न त हामीले मन्द गर्न सक्छौ न त छरितो नै, तर पनि समयको त्यो अविरल बहावसँगै जिन्दगीलाई अगाडी बढाउने क्रममा कुनै त्यस्ता क्षणहरु आउँछ जुन क्षणलाई कल्पिदा मात्रै पनि ज्यादै आनन्दको अनुभुति हुन्छ । लोसार २१३९ को अवसरमा शेर्पा किदुग युएईले युएईको बरदुवईमा युएई मै पहिलो शेर्पाहरुको भव्य कार्यक्रमको रुपमा लोसार साँझ कार्यक्रम आयोजना गरिने भएको थियो । गत डिसेम्बर मै शेर्पा किदुग युएईका कोषाध्यक्ष तेन्जिङ दाईको नेपाल भ्रमणताका कार्यक्रमको बिषयमा हिमालयन शेर्पा सांस्कृतिक केन्द्रसँग छलफल भई दुई जना शेर्पा कलाकारहरुलाई कार्यक्रममा सिफरिस पनि भएको थियो । सोहीअनुरुप तयारी भईरहेको र कार्यक्रममा व्यक्तिगत रुपमा मलाई पनि शेर्पा किदुग युएईका विशेष गरी पासाङ दाई (पासाङ रिन्जी शेर्पा रामेछाप) र तेन्जिङ दाई (तेन्जिङ शेर्पा खोटाङ) ले निम्तो दिनुभएकोले पछिल्लो समयमा म पनि कार्यक्रममा सहभागी हुने भएको थिए । शेर्पा किदुग युएईले मार्च ९ तारिखका लागि कार्यक्रमको मिति तय गरिएको हुनाले हामी (हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका २ जना कलाकार र म) ८ तारीखमा जानुपर्ने भन्ने भएको थियो तर दुई जना कलाकारहरुलाई दुताबासले अन्तिम चरणमा आएर प्रवेशाज्ञा दिन नसक्ने भएको जानकारी दिएसँगै तयारीका केही कार्ययोजनाहरुमा फेरवदल गर्नुपर्ने जस्तो देखिन थाल्यो ।
हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका कलाकारहरुको सो कार्यक्रममा जाने आकांक्ष जति थियो त्यत्ति नै आयोजकले पनि उनीहरुलाई जसरी कार्यक्रममा सहभागी गराउनका लागि हरसम्भव प्रयासहरु गरिरहेका थिए त्यसैले पनि निर्धारित कार्ययोजनामा केही फेरबदल गरेर म ८ तारिखमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट युएईको शारजाह विमानस्थलका लागि जाने तयारी भयो । एयर अरवियाको करीब ५ घण्टाको हवाईउडान पछि युएईको शारजाह विमानस्थलमा अवतरण भयो । पहिलो विदेशभ्रमणले पनि होला अथवा सबैलाई त्यस्तै लागेको हुनुपर्छ नेपालबाट विदेशको भुमिमा प्रवेश भएपछि हामीलाई कता कता पराई भएजस्तो अनुभुति भने पक्कै हुँदोरहेछ । नौलो ठाउँ अनि पहिलो अनुभवलाई छिचोल्दै विमानस्थलको अध्यगमनमा पुग्ने व्यवस्था सहजढंगबाट आयोजकले एजेन्सी मार्फत गरिदिनुभएको रहेछ त्यसैले त्यहाँ खासै गाह्रो भएन र विमानस्थलबाहिर निस्कनेवित्तिकै पासाङ दाई र तेन्जिङदाईको न्यानो स्वागत सँगै आत्मियता साट्न पाए, त्यसपछि त मैले केही क्षण अगाडी विमानबाट विदेशीभुमिमा ओर्लदा अनुभुति गरेको कुरालाई पनि विर्सन पुगे । त्यहाँ उहाँहरुसँगको भेटपछि सम्झनाका प्रतिबिम्बस्वरुप केही तस्वीरहरु खिचेर हामी पासाङ दाईको गाडीमा उहाँकै निवासतिर लाग्यौ । विमानस्थलदेखि उहाँको निवास पुग्न करीब १५ मिनेट जति लाग्नेरहेछ त्यो अवधिमा हामीले भोलीको कार्यक्रमको बारेमा केही कुराकानीहरु गर्यौं । नेपालबाट गायक सोनाम भाई र पेमा ल्हमुलाई कार्यक्रममा ल्याउनेबारेमा उहाँहरु अझैसम्म पनि हरप्रयासमा जुटिरहनुभएको रहेछ त्यसैले एजेन्सीमार्फत नभएपछि पनि हार नमानी थप शुल्क बुझाएर भए पनि झिकाउने प्रयासमा रहनुभएको रहेछ र एक जना प्रवेशाज्ञसम्बन्धी काम गर्ने नेपालीले नै ७ घण्टामा प्रवेशाज्ञ उपलब्ध गराइदिनसक्छु भनेर आश देखाएको रहेछ र त्यही आशमा नेपालका कलाकारहरुलाई पनि तयारीमा रहन अनुरोध गरिरहनुभएको थियो । तर अन्तिम क्षणसम्म आइपुग्दा आश केवल आशमै सिमित रह्यो । जिन्दगीको आफ्नै गति हुन्छ र मान्छेले आफ्नो जिवनलाई आफुखुसी संचालन गर्छु भन्दा त्यो असम्भव प्राय हुनेरहेछ किनकी जुन सन्दर्भहरु हामीले आफ्नो जिवनको अवधीमा भोग्नुपर्ने हो, त्यसलाई जसरी पनि भोग्नु नै पर्ने रहेछ भनेर भाग्यमाथिको विस्वासनीयता प्रगाढ बन्दै थियो भने अर्कोतिर विदेशमै बसेर पनि एक नेपालीले अर्को नेपाली माथि गरेको त्यो व्यवहार अथवा छलकपटीले कता कता दुःख पनि लाग्यो ।ग्यारेन्टीका साथ काम गर्ने शर्तमा पैसा लिएर अन्तमा काम नभएको खवर गरेपछि तेज्जिङ दाई त्यो व्यक्तिप्रति केही आक्रोशित पनि बन्नुभयो । पासाङ दाईको निवासमा पासाङ दाईकी श्रीमती (भाउजु) युडेन शेर्पा र शेर्पा किदुग युएईका अन्य सदस्यहरुसँग भेटघाट भयो उहाँहरु सबै जना भोलीको कार्यक्रमको लागि तयारी गरिरहनुभएको थियो । केही समयको परिचयत्मक भेटघाट र कुराकानीपछि केही साथीहरु आ–आफ्नो निवासतर्फ लाग्नुभयो र हामीपनि केही समय विविध बिषयमा कुराकानी गर्दै बस्यौं । ९ तारीख बिहानैदेखि कार्यक्रमको तयारीमा जुट्यौं । कार्यक्रम दिउसो ३ बजेदेखि सुरु हुने भएकोले तयारीका लागि हामी दिउँसो १ बजे तिर कार्यक्रम स्थल बरदुवईतर्फ लाग्ने तयारी भयो । विकासको दृष्टिकोणले नेपाल भन्दा धेरै अगाडी बढेको देश रहेछ त्यसै त काठमाठौंको खाल्डाखुल्डीले भरिएको धुलम्मे सडकमा संघर्ष गर्ने हामी त्यहाँ पुग्दा लगभग स्वर्ग नै यस्तै हो की भन्ने अनुभुति हुदोरहेछ । खुल्ला सडक शान्त अनि सफा पनि ।
कार्यक्रमको तयारीमा किदुगका साथीहरु लागिरहनुभएको थियो र प्रमुख अथिति युएईका लागि नेपालका कार्यवहाक राजदुत दीपक अधिकारीको आगमनसँगै कार्यक्रम सुचारु भयो । औपचारिक र अनौपचारिक सँगै गरी कार्यक्रम भव्यरुपमा सम्पन्न भयो । युएईमा रहेका करिब ४ सय जना जति महानुभावहरुको उपस्थिती रहेको कार्यक्रममा सबै जना उत्साहित देखिन्थे र विदेशी भुमिमा भएको कार्यक्रमले शेर्पा जातिको मात्रै नभएर सबै आम नेपालीहरु कै चासोको कार्यक्रमको रुपमा सो कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा आयोजकका पदादिकारीहरु पनि कार्यक्रम सफल भएकोमा खुशी थिए । अक्सर सबै ठाउँमा आयोजना गरिने लोसारको कार्यक्रमहरु छ्याङ रक्सी वियर ह्वीस्की जस्ता मादक पदार्थबाट अछुतो नरहने गरेको अवस्थामा सो कार्यक्रमले लोसार साँझ युएई मादक पदार्थरहित एउटा नयाँ सन्देशका साथ सफलतापुर्वक सम्पन्न भएको गरिएको थियो । कार्यक्रमको समापन सँगै सो को बिषयमा सामाजिक संजाल फेसबुकमार्फत टिकाटिप्पनीहरु आउने क्रममा सो कार्यक्रमलाई आदिवासी महासंघ युएई लगायत विभिन्न जातीय संघ संस्थाहरुले बर्ष कै उत्कृष्ट कार्यक्रमको रुपमा बधाई दियो । जसले पनि कार्यक्रम पुरै सफल भएको अनुमान लगाउन सकिन्छ ।
निर्धारित समय सकिन मेरो लागि अझै दुई दिन बाकी थियो त्यसैले कार्यक्रम सकेको भोलिपल्ट १० मार्चमा शेर्पा किदुग युएईका सदस्य फुरी दाई ( फुरी शेर्पा सोलुखुम्बु) सँग चर्चित दुवई मेट्रो र गुम्न जाने भयौं । फुरी दाईको पनि सो दिन छुट्टी थियो त्यसैले हामी मेट्रो रेल मार्फत दुवई मल र बुर्ज खलिफा (टावर) गुम्न जाने भयौं । हामीलाई मेट्रो स्टेशन छोढ्नका लागि पासाङ दाई र भाउजु पनि आउनुभएको थियो ।

अल मम्जर पार्कको नजीकमा
बाटोमै पर्ने भएकोले केही समय हामीले दुवईको अल मम्जर पार्कमा बितायौं, समुन्द्रको नजीकमा अति सुन्दर पार्क रहेछ । वास्तवमा त्यहाँको सडक यातायातको व्यवस्था निकै व्यवस्थित रहेछ । त्यहाँको सबै बसस्टेशनहरुमा यात्रुको सुविधाका लागि भनेर एसी कण्डिसनको यात्रु प्रतिक्षालयहरु पनि निर्माण गरिएको रहेछ । त्यसपछि हामी मेट्रो रेल मार्फत दुवई मल जाने भयौं ।

दुवई मेट्रोमा फुरी दाई
फुरी दाईले एउटा कार्ड लिएर आउनुभयो र त्यही कार्ड नै त्यहाँको सबै सार्वजानिक यातायातहरुमा प्रयोग हुने रहेछ । मेट्रो रेल निकै अचम्म नै लाग्यो जुन चालक रहित रुपमा संचालन हुने रहेछ । समयको गति जसरी अविरल हुन्छ त्यसरी नै त्यो मेट्रो रेलको गति पनि अविरल हुनेरहेछ, निश्चित समयभित्र निश्चित गन्तव्यमा पुग्ने त्यो रेल सेवा समयको पावन्दीलाई साँच्चै बुझ्न सक्ने गरी जमिन माथी र जमिन मुनि सबै तिरको मार्ग निश्चित गरी संचालन गरिएको रहेछ । केही समयपछि दुवई मल नजीकको स्टेशनमा रोकेर हामी त्यतातिर लाग्यौ । बुर्ज खलिफा जुन विश्वकै सबै भन्दा अग्लो टावरको रुपमा चिनिदो रहेछ र जसको फेदमै रहेको विशाल दुवई मल, सम्भवत दिनभरी नै घुमेपनि नसक्ने सपिङ कम्प्लेक्स रहेछ । अधिकांश रमाइला ठाउँहरु घुम्दा घुम्दै समय गएको पनि पत्तै भएन । फुरी दाईले त्यसभित्रका अधिकांश रमाइला ठाउँहरुको बारेमा मलाई जानकारी गराउदै हुनुहुन्थ्यो र त्यो दुवइमल भित्रका सबै भन्दा आकर्षक ठाउँ भनेको समुन्द्र भित्र झै विशाल सिसाको घरभित्र माछा र समुन्द्र भित्रकै झझल्को दिने गरी बनाइएको रहेछ । साँच्चै त्यो ज्यादै आकर्षक थियो । साँझ ढल्दै गएकोले हामी समयमा सकेको जति ठाउँ गुमेर पुर्व तर्फको ढोकाबाट बाहिर मात्रै लागेको थियौ बाहिर बुर्ज खलिफा टावरको फेदमा रहेको पोखरीभित्र संगीतको धुनसँगै पानीका फोहोराहरुले नृत्यको आकार पो लिदोरहेछ र जसलाई वाटार डान्स अर्थात पानी नृत्य भनेर भनिदोरहेछ । बुर्ज खलिफा टावरमा साँझ बलेको बत्तीको चमक, संगीतको धुन र पोखरीमा पानीका फोहोराले नृत्यको रुप लिँदा वातावरण निकै आनन्दमयी बन्दोरहेछ ।

विश्वकै अग्लो टावर "बुर्ज खलिफ"
करीब २० मिनेट जतिको सो दृष्यालोकन पछि हामी पुनः मेट्रो रेल मार्फत फर्कियौ । पासाङ दाई र तेन्जिङ दाई कुनै रेल स्टेशनमा पर्खिरहनुभएको रहेछ त्यहाँ उहाँहरुलाई भेटेपछि हामी ग्लोबल भिलेजतर्फ लाग्यौं जहाँ विश्वका विभिन्न मुलुकहरुका आकर्षणहरु हेर्नका लागि मेला लाग्दो रहेछ । विभिन्न आकर्षक खेलकुदका सामाग्रीहरु देखि लिएर नृत्य सबै सबै किसिमका आकर्षणहरु हेर्न मिल्ने सो ठाँउमा अत्यन्तै जोखिमपूर्ण खेलहरु पनि खेलाइने रहेछ त्यस्तैमा बच्चाको खेलौना जस्तो देखिने रेल आकारको बस्तुभित्र म र फुरी दाई बस्यौं । तेन्जिङ दाई, पासाङ दाइ र भाउजु फोटो खिच्न बस्नुभयो र हामी सो खेलमा सहभागी भयौं । एकैछिन पछि त्यो यति डरलाग्दो र जोखिमपूर्ण तरिकाले दौडिने रहेछ लगभग होशहवास नै उडाउने रहेछ, फुरी दाईको पनि पहिलो अनुभव रहेछ त्यसैले उहाँपनि आँखा चिम्लेर जाखिमको सामना गरिरहनुभएको थियो र करीब ५ मिनेट पछि रोकिदा ज्यादै जोखिमपूर्ण अवस्थाबाट बाहिर आएको अनुभुति भयो । पासाङ दाई तेन्जिङ दाई र भाउजु उहाँहरुले त्यो जोखिमताको अनुभव पहिल्यै लिइसक्नुभएको रहेछ त्यसैले उहाँहरु बेस्मरी हाँस्दै हुनुहुन्थ्यो त्यसैले हामी पनि केही समय अघिको डर हटाउन केही बेर हास्यौं । निकै अविस्मरणीय रह्यो त्यो पल मेरो दुवई यात्राको क्रममा ।
वास्तवमा नेपालीहरु जहाँ गए पनि सधै नेपाली नै हुँदारहेछन त्यसैले हिजो हाम्रै गाउ घर वन पाखाहरुमा गुञ्जने लोकभाकाहरुलाई सुन्न रुचाउनेहरुका लागि नै भनेर होला सायद, एक एण्ड एती नामक दोहोरी साँझ पनि रहेछ । हाम्रो केही समय त्यहाँ बित्यो र नेपाली लोककलाकारहरुले सुमधुर लोकदोहोरी गीतहरुको माध्यमबाट नेपालीपनको आभाष दिलाएको अनुभुति गरियो र केही समयको बसाईपछि हामी निवासतर्फ फर्कियौं ।
विदेशको भुमिमा भए पनि किदुकका विशेष गरी तेन्जिङ दाई, पासाङ दाई फुरी दाई, निमा दाई, पासाङ तेन्जी दाईहरुको आत्मियता र सहयोग पाएकोले नै होला त्यो अवधीभर मलाई कहिल्यै विदेशी भुमिमा भएको अनुभव नै भएन । उहाँहरुको आफ्नो व्यस्त समयको बाबजुत पनि मेरो लागि समय निकालेर युएईको अधिकांश रमाइला ठाउँहरुको भ्रमण गराउन लागिरहनुभएको थियो । ११ तारीखमा हामी बिहानै निस्कियौ । पासाङ दाईले नेपालमा जस्तै पहाडहरु भएको ठाउँ पनि छ भन्नुभएकोले सो ठाउँमा जाने निधो गरियो । फराकिला सडक सफा अनि ध्वनि नियन्त्रणले शान्त वातावरणमा करीब १२० किमि प्रतिघण्टाको गतिमा पासाङ दाईले गाडी दौडाईरहनुभएको थियो । नेपालको सामाजिक र राजनीतिक बिषयमा विशेष चासो राख्नुहुने स्वाभवको हुनुहुदोरहेछ पासाङ दाई, बाटोमा उहाँसँग विभिन्न नेपालका सामाजिक राजनीतिक बिषयमा धेरै कुराकानीहरु गर्यौ साथमा भाउजु र फुरी दाई पनि हुनुहुन्थ्यो । जाँदा जाँदै हामीले बिहानाको चिया गाडीमै बसेर पिउन थाल्यौं । नेपालको खाल्डाखुल्डीमा बनेका सडकहरुमा गुडिरहने बानी परेको हामी नेपालीहरुका लागि गुडिरहेको गाडीमै नतमस्तक बसेर चिया खानु त्यो पनि अचम्मै लाग्ने रहेछ । त्यहाँका सडकहरुमा दिउँसो आकाशमा तारा देखिए जतिकै सायदै खाल्डाखुल्डीहरु थिए र त त्यो एउटा नौलो अनुभव गरे मैले ।वास्तवमा विकासको गतिलाई अगाडी बढाउनको लागि शासकहरु देश र जनताप्रति इमान्दर हुनपर्दो रहेछ तर नेपालका विगतदेखि बर्तमान सम्मका शासकहरु सधै आफु र आफ्नो परिवारका लागि मात्र दुनो सोझ्याउने कामबाहेक अरु केही गरेका छैनन् र कटु सत्य यो हो नेपालमा विकासका गति अगाडी बढ्न नसक्नुमा यहाँका विगतदेखि बर्तमानसम्मका शासकहरु नै मुल दोषी हो ।यिनै अनेकन कुराहरु मनमा खेलाउदै र मानवीय कृत्रिम विकासका संरचनाहरु नियल्दै हामी युएईको कलवा भन्ने ठाउँमा पुग्यो जुन ठाँउ प्राकृतिक भु–बनौटको हिसावले नेपालको मुस्ताङ जिल्लासँग मिल्दोजुल्दो लाग्यो ।

सुरुङभित्रको सडक दृष्य
तर सडक यातायातको अति नै सुविधासम्पन्न सो क्षेत्रको संरचनाहरुलाई नियाल्दै गर्दा नेपालको कुनै पनि क्षेत्रहरुमा विकास गर्न चाह्यो भने असम्भव छैन भन्ने झझल्को दिलायो र पासाङ दाईसँग पनि यस बिषयमा कुराकानी गर्दै हाम्रो यात्रा अगाडी बढदै थियो । केही पर पुगेपछि त झन अचम्मै गरी पहाडै छेरेर सडक यातायात विस्तार गरिएको रहेछ हाम्रो यात्राले त्यतैतिरको दिशा लिइरहेको थियो र करीब २०/२५ किमीको दुरी पार गर्न हामी पहाडको सुरुङभित्र थियौ तर त्यहाँ अध्याँरो थिएन, सबैतिर बत्तीको व्यवस्था गरिएको सो सुरुङबाटै पहाड छिचोलेर हामी पछाडी निस्कियौ । निकै नौलो अनुभवका साथ ती ठाउँहरुको प्रतिविम्बलाई कैद गरेर हामी त्यहाबाट फर्कियौं ।

हुक्काको साथमा
निकै रमाइला र नौला ठाउँहरुको अनुभव संगाल्दै समयको गतिमा बहकिने प्रयास गर्दा युएईमा मेरो बसाई छोटिदै थियो बेलुकीपख त्यहीको साततारे होटल बुर्ज अल-अरबमा गयौ । त्यहाँका विभिन्न रमाइला ठाउँहरुको भ्रमण गरिसकेपछि हामी बरदुवईको एक होटलमा गएर हुक्काको स्वाद पनि अनुभव गर्यौ । निकोटिन रहति फलफुलको स्वादमा भएपनि पहिलो पटक भएकोले होला सायद, केही असजिलो महसुस गरे । काठमाडौंको र त्यहाँको मौसममा खासै भिन्नता थिएन भर्खर हिउँद सकिएकोले मौसम चिसो चिसो नै थियो । पासाङ दाई, भाउजु, तेज्जिङ दाई पिटीएस दाई र हामी केही समय विविध समसामयिक बिषयमा छलफल पनि गर्यौं । विशेष गरी लोसारमा आयोजना गरिएको कार्यक्रमको सन्दर्भमा अलि बढी केन्द्रित भयौं ।

पहाड खोपेर बनाएको सडक
यस बर्षको लोसारलाई हर्षोल्लाषको साथ नमनाउने भन्ने अव्यवहारिक बहस केही समय अगाडी चलिरहँदा युएईमा कार्यक्रम आयोजना गर्ने तय भएको प्रति यूरोपमा बस्ने केही शेर्पाहरुले व्यक्त गरिएको शब्दप्रति उहाँहरु गम्भीर ध्यानाकर्षण भएको रहेछ । “५० डिग्रीको तापक्रममा बस्ने शेर्पाहरुले के गर्न खोजेका होलान” भन्ने जस्ता तुच्छ शब्दहरु प्रयोग गरिएको रहेछ त्यहाँका शेर्पाहरुले । त्यसो त आकांक्ष विश्वभरिका शेर्पाहरुलाई नेतृत्व गर्छु भने पनि शेर्पा भित्रकै यस्ता भित्री तुच्छता र खोक्रोपनाले व्यवहारिक हुन नसकेको होला सायद ।यसले हाम्रो समाजभित्रको वर्गीय विवेद प्रष्टै झल्किन्छ । पश्चिमा मुलुकमा बसेका शेर्पाहरुले मात्रै सबै थोक गर्नसक्छ र उनीहरुले भनेको मात्रै सबै सही हुनुपर्छ भन्ने अहंकारको पराकाष्ट पनि होला भन्ने लाग्यो त्यो तुच्छ वाणी । जे होस कार्यक्रम निकै भव्यताका साथ सम्पन्न गरिसकेकोले ती कुरालाई पुरै खारेज गरिसकेको थियो । कुराकानी गर्दा गर्दै रात निकै छिपिसकेको रहेछ त्यसैले त्यहाँबाट हामी फर्कियौं ।

पासाङ रिन्जी दाई, तेन्जिङ दाई र निमादाईसँग शारजाह विमानस्थलबाट फर्कदाँ
अन्तत ३ दिने युएई भ्रमण पुरा गरी १२ मार्चमा नेपाल प्रवेश गरे । विभिन्न नौला ठाउँहरुको दृष्यालोकन र अनुभवहरु संगाल्ने एउटा सुनौलो मौका बन्यो मेरा लागि । युएई भ्रमणका क्रममा त्यहाँका दाईहरुको साथ र सहयोग प्रति म सधै आभारी रहनेछु । विदेशमै बसेर भए पनि आफ्नो व्यक्तिगत वाध्यता भन्दा माथी उठेर देश अनि समाजको लागि केही गर्छु भन्ने भावना बोकेका विशेष गरी पासाङ दाई, युडेन भाउजु, तेन्जिङ दाई, निमा दाई, फुरी दाई, पासाङ तेन्जी दाई, सोनाम दाई, कितेम्ब दाई सबै प्रति म विशेष आभार व्यक्त गर्दछु र शेर्पा किदुग युएईको उत्तरोत्तर कामना व्यक्त गर्दछु ।
-थुचिछे ।

-पेम्बा गेलु शेर्पा

No comments:

Post a Comment